काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज परिसूचकमा आज सामान्य सुधार देखिएको छ । तीन दिनको गिरावटपछि बजार परिसूचक नेप्से ३.२७ अङ्कले बढेर २५८४.४९ विन्दुमा पुगेको हो । यो अघिल्लो दिनको तुलनामा ०.१२ प्रतिशतको वृद्धि हो ।
आज बजारमा ३ अर्ब ४२ करोड कारोबार भएको छ । कुल ९२ हजार ७४६ पटकको कारोबारमार्फत ३२८ कम्पनीका ७६ लाख ६८ हजार ९१५ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
आजको कारोबारमा १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको मूल्य घटेको छ । कारोबार भएकामध्ये बाँकी ८ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
आज बजारमा कुल १३ समूहका सूचकमध्ये ७ सूचक बढेका छन् भने बाँकी ६ समूहका सूचक घटेका छन् । अन्य समूहमा सबैभन्दा धेरै १.२८ प्रतिशत वृद्धि हुँदा अरू सबै समूहमा एक प्रतिशत भन्दा कम उतारचढाव रहेको छ ।
आज एसवाई प्यानलका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७.०१ प्रतिशत बढेर ८०६ रुपैयाँ पुगेको छ ।
त्यस्तै गुराँस लघुवित्तको मूल्य ६.०१ प्रतिशत र सयपत्री हाइड्रोपावर को ५.९६ प्रतिशतले वृद्धि भएको छ । आज सिटिजन्स लाइफ कम्पनीको सेयर मूल्य सर्वाधिक ५.९७ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा पनि एसवाई प्यानल नै शीर्ष स्थानमा रह्यो, यो कम्पनीको ३० करोड ९८ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएका छन् । अरू कम्पनीको १० करोडभन्दा कम नै कारोबार भएको छ ।

