काठमाडौं । नेपाली सेनाका सहायक रथी प्रकाशराज थापा उपरथीमा बढुवा भएका छन्। सैनिक मुख्यालयको सिफारिसअनुसार गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई उपरथी पदमा बढुवा गर्ने निर्णय गरेको हो।
मंगलबार जंगी अड्डामा आयोजित विशेष समारोहमा थापालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरिएको छ। प्रधानसेनापति अशोकराज सिग्देलले कार्यक्रमबीच थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
सोही अवसरमा सहायक रथीमा बढुवा भएका दुई जना महासेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ। महासेनानी विजय केसी र भीमशंकर वन सहायक रथीमा बढुवा भएका हुन्।
बढुवापश्चात् केसीलाई उपत्यका पृतनामा र वनलाई सैनिक अभिलेखालयमा पदस्थापन गरिएको नेपाली सेनाले जनाएको छ।

