काठमाडौं । आज क्रिश्चियन धर्मावलम्बीहरूले विश्वभर ‘क्रिसमस डे’ हर्षोल्लासका साथ मनाइरहेका छन् । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मको सम्झनामा प्रत्येक वर्ष डिसेम्बर २५ मा यो पर्व मनाइन्छ । नेपालमा आजको दिन सार्वजनिक बिदा दिइएको छ ।
विश्वासअनुसार आजभन्दा करिब २ हजार २५ वर्षअघि येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा कुमारी मरियमबाट भएको थियो । नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजका अनुसार येशु ख्रीष्टले मानव जातिलाई मुक्ति, प्रेम र शान्तिको सन्देश दिनुभएको विश्वासका कारण क्रिश्चियन समुदायले क्रिसमसलाई मुक्ति दिवस, प्रेम दिवस र शान्ति दिवसका रूपमा मनाउने गर्छन् ।
अध्यक्ष गहतराजले नेपालमा विसं २०६३ सालपछि क्रिसमसलाई महासङ्घको पहलमा महोत्सवको रूपमा मनाउन थालिएको जानकारी दिए । महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो ‘क्रिसमस महोत्सव २०८२’ आयोजना हुँदैछ । सो कार्यक्रममा सरकारका प्रतिनिधि, विभिन्न निकायका अधिकारी तथा मानव अधिकारकर्मीहरूको सहभागिता रहने जनाइएको छ ।
नेपालमा क्रिसमसका अवसरमा ०६३ देखि २०७४ सम्म सबैलाई सार्वजनिक बिदा दिइँदै आएको थियो । त्यसपछि विसं २०७५ देखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइयो । विसं २०७८ सालदेखि भने पुनः सबैका लागि सार्वजनिक बिदा दिइँदै आएको छ ।

