काठमाडौं । आगामी सन् २०२६ फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको ‘ट्रफी टुर’ नेपालमा पनि हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार विज्ञप्ति जारी गर्दै विश्वकप ट्रफी टुर आगामी जनवरी ५ देखि ७ सम्म नेपालमा आयोजना हुने जानकारी दिएको हो। ट्रफी टुरको विस्तृत कार्यक्रम, तालिका, स्थान तथा गतिविधिसम्बन्धी जानकारी भने अर्को प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने क्यानका प्रवक्ता छुम्बी लामाले बताएका छन्।
आईसीसी पुरुष टी–२० विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा सञ्चालन हुनेछ। प्रतियोगितामा नेपाल पनि सहभागी हुँदै छ।
नेपालले फेब्रुअरी ८ मा इङल्यान्डसँग खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ। समूह चरणमा नेपाल बंगलादेश, इङल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ।
विश्वकपमा सहभागी २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष दुई टोलीले सुपर–८ चरणमा स्थान बनाउनेछन्। सुपर–८ बाट चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् भने फाइनल खेल मार्च ८ मा आयोजना हुनेछ।

