काठमाडौं । सन् २०२५ मा नेपालमा प्रेस स्वतन्त्रता हननका घटना अघिल्लो वर्षको तुलनामा झण्डै तेब्बरले वृद्धि भएको छ । नेपाल पत्रकार महासंघले गरेको अनुगमनअनुसार सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १३९ घटना अभिलेख भएका छन् ।
ती घटनाबाट २१८ जना पत्रकार तथा सञ्चारकर्मी र ३१ वटा सञ्चारगृह प्रत्यक्ष रूपमा प्रभावित भएको महासंघले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सन् २०२४ मा ६० र सन् २०२३ मा ५८ वटा प्रेस स्वतन्त्रता हननका घटना अभिलेख भएका थिए । महासंघका अनुसार सन् २०२५ मा प्रेस स्वतन्त्रता उल्लंघनको अवस्था निकै भयावह बनेको छ ।
यस वर्ष दुई जना पत्रकारको मृत्यु भएको महासंघले जनाएको छ । गत मार्च २८ मा तीनकुनेमा भएको आन्दोलनको रिपोर्टिङका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो । त्यसैगरी पत्रकार अजय गोर्खालीको मृत्यु र त्यसपछि सार्वजनिक भएका फोटो, भिडियो तथा प्रत्यक्षदर्शीको भनाइका आधारमा उनको मृत्यु पनि रहस्यको घेराभित्र रहेको आशंका गरिएको महासंघको भनाइ छ ।
महासंघले सन् २०२५ मा सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचन गर्ने खालका केही कानुनी प्रबन्ध अघि बढाएको पनि जनाएको छ ।
भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा मात्रै प्रेस स्वतन्त्रता हननका २६ घटना भएका छन् । ती घटनाबाट एक सयभन्दा बढी पत्रकार तथा सञ्चारगृह प्रत्यक्ष प्रभावित भएका थिए । भदौ २४ गते भएको हिंसात्मक घटनामा सञ्चारगृहमा आगजनी, लुटपाट र तोडफोड भएको थियो । महासंघका अनुसार संस्थागततर्फ करिब ६० करोड रुपैयाँ बराबरको क्षति भएको छ भने पत्रकार तथा सञ्चार उद्यमीको निजी सम्पत्तितर्फ १८ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ । पाँच जना पत्रकार गोली लागेर घाइते भएका थिए ।
सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल, नेपाल टेलिभिजन, कान्तिपुर पब्लिकेशन, अन्नपूर्ण पोस्ट, थाहा खबर, बुटवलको रेडियो जागरण, इलामका नेपालवाणी एफएम र इलाम एक्सप्रेस, चितवन र सप्तरीका विभिन्न सञ्चारगृह तथा महासंघ शाखा कार्यालयमा आगजनी र लुटपाट गरिएको महासंघले जनाएको छ ।
महासंघको विमतिका बाबजुद संघीय संसदमा विचाराधीन मिडिया काउन्सिल विधेयक, सामाजिक सञ्जाल सञ्चालन तथा नियमन विधेयक, सूचना प्रविधि ऐनलगायत सञ्चारसम्बन्धी विधेयकहरू समितिबाट अघि बढिरहेका बेला जेनजी आन्दोलन र त्यसपछिको राजनीतिक परिवर्तनका कारण संघीय संसद नै विघटन भएको महासंघले जनाएको छ । साथै सरकारले ल्याएको छापाखाना तथा प्रकाशनसम्बन्धी नियमावलीका कतिपय प्रावधान प्रेस स्वतन्त्रतामाथि असर पार्ने खालका रहेको ठहर गरिएको छ ।
महासंघका अनुसार सन् २०२५ मा प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा वृद्धि हुनुका कारण आन्दोलन, कानुन र नीति सुधारमा निष्क्रियता, लोकप्रियतावादी राजनीतिको बढ्दो प्रभाव, पत्रकारविरुद्धका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक संकट, पत्रकारको पेसागत तथा भौतिक सुरक्षामा बढ्दो जोखिम रहेका छन् ।
आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा भइसकेको सन्दर्भमा महासंघले निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न होस् र मुलुक लोकतान्त्रिक मार्गमा अघि बढोस् भन्ने अपेक्षा व्यक्त गरेको छ । साथै निर्वाचनका क्रममा हुन सक्ने प्रेस स्वतन्त्रता हननप्रति सचेत रहन प्रेस जगत र सरोकारवालालाई आह्वान गरेको छ ।

