काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–१ मा बिहीबार बिहान सशस्त्र प्रहरी बलको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएको छ। घटना भारतीय क्षेत्रमा चिनी, सर्फ र सुर्ती सामान लिएर आउँदै गर्दा उनका घर नजिकै भएको थियो। प्रारम्भिक रिपोर्टअनुसार साहलाई दुई राउण्ड गोली लागेको थियो।
साहको मृत्युपछि आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गर्दै प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनीसमेत गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काका अनुसार प्रदर्शनका कारण ठूला सवारी साधनहरू रोकिएका छन् र मोटरसाइकल मात्रै आवतजावत गर्न सकिरहेको छ। स्थानीयहरूले मृतकको शव सडकमा राखेर दोषीको तत्काल कारबाहीको माग गर्दै प्रदर्शन जारी राखेका छन्।
घटनापछि प्रहरीले स्थानीयसँग वार्ता गरेको थियो, तर सहमति हुन सकेको छैन। प्रहरीले घटनास्थलमा नियन्त्रण कायम राख्दै अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।

