लमजुङ । गत पुस १२ गतेदेखि लमजुङको बेसीशहरमा सुरु भएको ३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगिताअन्तर्गत क्वाटरफाइनलका खेलहरू सम्पन्न भएका छन्।
शुक्रबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा आयोजक त्रिवेणी युवा क्लब बेसीशहरलाई पराजित गर्दै मर्स्याङ्दी युवा क्लब बेसीशहर सेमिफाइनलमा प्रवेश गरेको छ। निर्धारित समयभित्र दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो। ट्राइबेकरमा मर्स्याङ्दी युवा क्लबले आयोजक त्रिवेणीलाई ५–४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो।
त्यसैगरी शुक्रबार नै सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा लालिगुराँस युवा क्लब भुजुङ र एपी चर्च व्वाइज युनाइटेडबीच प्रतिस्पर्धा भएको थियो। खेलको सुरुवातमै लालिगुराँसले एक गोल गर्दै अग्रता लिएको थियो। तर दोस्रो हाफको अन्त्यतिर एपी चर्च व्वाइजका तर्फबाट बराबरी गोल भएपछि खेल १–१ को बराबरीमा टुंगिएको थियो। त्यसपछि भएको ट्राइबेकरमा एपी चर्च व्वाइज युनाइटेडले लालिगुराँस युवा क्लब भुजुङलाई ४–३ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
अब शनिबार हुने सेमिफाइनल खेलमा मर्स्याङ्दी युवा क्लब बेसीशहर र एपीएफ फुटबल क्लबबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ। दोस्रो सेमिफाइनल खेलमा एपी चर्च व्वाइज युनाइटेड र लाङ्दीदेवी युवा क्लब नाल्मा, लमजुङबीच फाइनल यात्राको टुंगो लाग्नेछ।
प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। त्यस्तै, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही २५–२५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। प्रत्येक खेलका ‘म्यान अफ द म्याच’लाई १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

