जनक श्रेष्ठ
लमजुङ । लमजुङ बेँसीसहर नगरपालिका ७ सहजीमा जारी ३३औं त्रिवेणी कप फुटबल प्रतियोगिताको फाइनलमा साबिक विजेता विभागीय एपीएफ क्लब प्रवेश गरेको छ ।
त्रिवेणी युवा क्लव बेँसीसहरको आयोजनामा जारी यस प्रतियोगिता अन्तर्गत शनिबार भएको सेमीफाइनल खेलमा लमजुङ मर्स्याङ्दी युवा क्लब इन्जुरी समयको अन्तिम क्षणमा चुक्दा साबिक विजेता विभागीय एपीएफ क्लब फाइनलमा प्रवेश गर्न सफल भएको हो ।
आयोजक क्लबका अध्यक्ष टेकजंग गुरुङका अनुसार सेमिफाइनलमा एपीएफले लमजुङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ३ का विरुद्ध ४ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । थप १०–१० मिनेटको समयमा पनि दुवै टोलीले गोल गर्न नसक्दा निर्णय टाइब्रेकरबाट गरिएको थियो ।
खेलको सुरुवातीमा ४१ औं मिनेटमा मर्स्याङ्दी १ गोल गर्दै अगाडी बढेपनि खेल समाप्ति हुनलाई केही मिनेट बाँकी रहँदा एपीएफका खेलाडीले गोल गरेसँगै खेल बराबरीमा पुगेको थियो। अब उपाधिका लागि एपीएफले ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र घरेलु टोली लाङ्दीदेवी नाल्माबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
यी दुई टोलीबीचको सेमिफाइनल भोलि आइतबार दिउँसो १ बजे हुने आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष गुरुङले बताए । उनका अनुसार यही पुस १२ गतेदेखि संचालित यस प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ भने प्रथम टिमले नगद १२ लाख, दोस्रो टिमले नगद ६ लाख ट्रफी मेडल प्राप्त गर्नेछ।

