काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज क्षेत्रमा लगाएको कर्फ्युको समय थप गरेको छ। कर्फ्युको समय मंगलबार दिउँसो १ बजेसम्मको लागि थप गरिएको स्थानीय प्रशासनले जनाएको छ।
यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो। तर, स्थिति सामान्य नभइसकेकाले कर्फ्युको सयम थप गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम वीरगन्ज महानगरपालिका क्षेत्रभित्र चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरेको हो। ताकिएको चार किल्लाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने स्थानीय प्रशासनले जनाएको छ।
पूर्वमा बसपार्क, नगवा, ईनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटलाई केन्द्रीत गरेर कर्फ्यु लगाइएको हो। ‘कर्फ्युको समयमा सुरक्षाकर्मीले देख्ने बित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन र निस्कनु परेमा नजिककैको सुरक्षाकर्मीसँग समन्वय गरि वा एकसय नम्बरमा फोन गरि निस्कन अनुरोध छ,’ मंगलबार बिहान सीडीओ दाहालले जारी गरेको सूचनामा भनिएको छ, ‘कर्फ्यु आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शव बाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरू, सञ्चारकर्मीहरू, पर्यटकका सवारी साधन, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई सेवाका यात्रुहरूको आवागमनमा सुरक्षकर्मीहरूबाट सहजीकरण हुनेछ।’

