काठमाडौं । भारतको हिमाचल प्रदेशको अर्की क्षेत्रमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यान जिल्लाका नौ जना नेपालीको ज्यान गएको छ। मृत्यु हुने सबै सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्य रहेको पारिवारिक स्रोतले पुष्टि गरेका छन्।
सोमबार राति करिब २ बजे उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा आगलागी भएको थियो। विस्फोटपछि वरपरका केही घरसमेत जलेर ध्वस्त भएका छन्। घटनास्थलमै सबैको मृत्यु भएको बताइएको छ।
सिद्धकुमाख गाउँपालिका–२ का वडा सदस्य लक्ष्मी विकका अनुसार ज्यान गुमाउनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया छोरी रेणुका विक र २२ महिनाका छोरा राजन विक रहेका छन्। त्यस्तै अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विकको पनि मृत्यु भएको छ।
उनीहरू करिब दुई वर्षदेखि रोजगारीका सिलसिलामा भारतमा बस्दै आएका थिए र सोही क्षेत्रमा मजदुरी गर्दै आएका थिए। स्थानीय स्रोतका अनुसार उनीहरू बसोबास गरिरहेको कोठामै ग्यास सिलिन्डर राखिएको थियो, जहाँबाट दुर्घटना भएको अनुमान गरिएको छ।
हालसम्म पाँच जनाको शव फेला परेको छ भने बाँकी शवको खोजी तथा पहिचान कार्य जारी रहेको जनाइएको छ। विस्फोटका कारण शवहरू तितरवितर भएकाले औपचारिक पहिचान प्रक्रिया पूरा गर्न कठिनाइ भइरहेको छ। घटनास्थलमा स्थानीय प्रशासन तथा सुरक्षाकर्मीले उद्धार र अनुसन्धान कार्य जारी राखेका छन्।

