काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङमा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ । मंगलबार सदरमुकाम बेसीसहरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर १२ जनाले मनोनयन पत्र दर्ता गराएका हुन् ।
एकमात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा नेकपा एमालेबाट पार्टीका उपाध्यक्ष एवं ‘हेभीवेट’ उम्मेद्वार पृथ्वीसुब्बा गुरुङले उम्मेदवारी दिएका छन् । उनलाई चुनौती दिन नेपाली कांग्रेसले जिल्ला सदस्य गमप्रसाद गुरुङलाई चुनावी मैदानमा उतारेको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट केन्द्रीय संगठन विभागका सदस्य धर्मराज केसीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट जिल्ला अध्यक्ष केविन्द्रजङ गुरुङ र नेकपाका तर्फबाट तत्कालीन माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य हरिजङ तामाङले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा माओवादी केन्द्रबाट रवीन्द्र नखोलाले पनि मनोनयन दर्ता गराएका छन् ।
जिल्लामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का गुहेश्वरी प्रजापति मगजुले पनि उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामबन्धु गौतमले जानकारी दिए ।
यस्तै सन्तोष घिमिरेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ठुला दलबाहेक साना दलहरूले पनि लमजुङमा उम्मेदवारी दिएका छन् । नेसनल रिपब्लिक नेपालबाट भरत गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनबाट विकास गुरुङ, श्रम संस्कृति पार्टीबाट कोषलाल गुरुङ र जनादेश पार्टीबाट मिलन बास्कोटाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

