काठमाडौं । नेपाल पत्रकार मञ्चले स्थापना गरेको उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार यस वर्ष वरिष्ठ सञ्चारकर्मी शिरोमणि दवाडीलाई प्रदान गर्ने भएको छ।
ललितपुरको लाकुरी भञ्ज्याङमा शनिबार सम्पन्न नेपाल पत्रकार मञ्चको बैठकले करिब तीन दशकदेखि पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय दवाडीलाई उक्त पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको हो।
नेपाल पत्रकार मञ्चका पूर्व महासचिव राम पौडेलका स्वर्गीय पिता उमाकान्त पौडेलको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार उपाध्यक्ष विमल थापाको संयोजकत्वमा गठित छनोट समितिको सिफारिसमा दवाडीलाई प्रदान गर्न लागिएको हो।
नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीका अनुसार मञ्चको स्थापना दिवसको अवसर पारेर आगामी चैत्र ३० गते आयोजना गरिने विशेष कार्यक्रममा दवाडीलाई औपचारिक रूपमा पुरस्कार प्रदान गरिनेछ।
यसै बैठकले शैक्षिक पत्रकारितालाई प्रोत्साहन गर्ने उद्देश्यसहित नयाँ पुरस्कारको समेत घोषणा गरेको छ। शिक्षासेवी नारायण आचार्यका स्वर्गीय मातापिता इन्द्रप्रसाद आचार्य र यानकुमारी आचार्यको स्मृतिमा श्री इन्द्रप्रसाद–यानकुमारी आचार्य स्मृति शैक्षिक पत्रकारिता पुरस्कार स्थापना गरिएको हो।
११ हजार १ सय ११ रुपैयाँ नगद राशीसहितको उक्त पुरस्कार प्रत्येक वर्ष शैक्षिक पत्रकारितामा उल्लेखनीय योगदान पुर्याउने एक जना पत्रकारलाई प्रदान गरिने नेपाल पत्रकार मञ्चले जनाएको छ।
बैठकले पुरस्कार स्थापना गर्ने पौडेल तथा आचार्य परिवारप्रति आभार व्यक्त गर्दै नेपाल पत्रकार मञ्चले हरेक वर्ष पत्रकारिताका विविध विधामा योगदान गर्ने पत्रकारहरूलाई करिब १० विधामा पुरस्कार प्रदान गर्दै आएको जानकारी पनि दिएको छ।

