काठमाडौं । आइतबार भएको फाइनलमा न्युजिल्यान्डविरुद्ध ९६ रनको सहज जित निकाल्दै आयोजक भारतले आइसीसी पुरुष टी– २० विश्वकपको उपाधि जितेको छ ।
भारत लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक च्याम्पियन बनेको हो । यससँगै भारत उपाधि रक्षा गर्ने तथा घरेलु मैदानमा च्याम्पियन बन्ने पहिलो राष्ट्र भएको छ ।
भारतले सन् २००७ र २०२४ मा विश्वकप जितेको थियो । भारत तेस्रोपटक उपाधि जित्ने एक्लो टोली हो ।
५ वर्षपछि फाइनल खेलेकाे न्युजिल्यान्ड पुनः उपविजेतामै सीमित भएको छ । टोली यसअघि सन् २०२१ मा अस्ट्रेलियासँग पराजित भएको थियो ।
अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भारतले प्रस्तुत गरेको २५६ रनको न्युजिल्यान्ड १९ ओभरमा १५९ रनमा समेटियो ।
न्युजिल्यान्डका लागि टिम सेइफर्टले २६ बलमा ५ छक्का र २ चौकासहित सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी, कप्तान मिचेल स्यान्टनरले ४३ र ड्यारिल मिचेलले १७ रन बताउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
भारतका जसप्रित बुमराहले ४, अक्षर पटेलले ३ तथा हार्दिक पान्डेय, वरुण चक्रवर्ती र अभिषेक शर्माले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २५५ रनको योगफल तयार पारेकोको थियो ।
भारतका लागि सञ्जु स्याममसनले ४६ बलमा ८ छक्का र ५ चौकासहित सर्वाधिक ८९ रनको योगदान गरे । यसैगरी इशान किशनले ५४, अभिषेक शर्माले ५२ र शिवम दुबेले अविजित २६ रन बनाए ।
न्युजिल्यान्डका लागि जिमी निशमले ३ तथा म्याट हेनरी र रचिन रविन्द्रले १–१ विकेट लिए ।

