काठमाडौं । फागुन २१ गते सम्पन्न निर्वाचनमा कुल ५ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको छ । निर्वाचन आयोगले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी निर्वाचनका लागि सो रकम खर्च भएको जानकारी दिएको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले सरकारसँग ७ अर्ब ८१ करोड ५ लाख ७६ हजार माग गरेको थियो । तर अर्थमन्त्रालयले ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँ उपलब्ध गराएको थियो । त्यसमध्ये ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ खर्च भइसकेको र बाँकी रकम भुक्तानी गर्न बाँकी रहेको उनले बताए ।
‘निर्वाचन प्रयोजनका लागि आयोगबाट ७ अर्ब ८१ करोड ५ लाख ७६ हजार रुपैयाँ माग भएकोमा अर्थमन्त्रालयबाट ६ अर्ब ७६ करोड ६६ लाख ९० हजारको स्रोत सहमति प्राप्त भएको थियो । प्राप्त रकममध्ये ३ अर्ब ५४ करोड २८ लाख ७ सय ९६ रुपैयाँ खर्च भएको छ,’ उनले भनेका छन्, ‘त्यसमध्ये भुक्तानी गर्न बाँकी दायित्व समेत हिसाव गर्दा जम्मा खर्च भएको रकम ५ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।’
त्यस्तै आयोगले मितव्ययी निर्वाचन गर्न सकेको समेत उनको दाबी रहेको छ । त्यसो त कुल मतदाताका लागि सरदर २६४ रुपैयाँ खर्च भएको उनले बताए ।

