काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ मन्त्रिपरिषद् गठनको गृहकार्यमा जुटेको छ। बिहीबार रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीच नयाँ मन्त्रिपरिषद् गठनबारे छलफल भएको छ।
रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, चैत १३ गते नयाँ सरकार बन्ने र वरिष्ठ नेता बालेनले प्रधानमन्त्रीको शपथ लिने तयारी भइरहेको छ। सोहीअनुसार संवैधानिक निकायहरूमा पत्राचार पनि गरिसकिएको छ।
हाल कायम २२ मन्त्रालयलाई घटाएर १८ मन्त्रालयमा सिमित गर्ने गृहकार्य भइरहेको रास्वपाले जनाएको छ। यसक्रममा केही मन्त्रालयहरू गाभ्ने वा मन्त्रीहरूलाई दोहोरो जिम्मेवारी दिने विषयमा छलफल भइरहेको छ।
बुर्लाकोटीले भने, “मन्त्रालयको संख्या र मन्त्री बन्नेहरूको नामावली टुंगो लागिसकेको छैन, तर हामी सकेसम्म १८ वा कम गरेर जाने तयारीमा छौँ।” रास्वपाले राज्यमन्त्री नियुक्त नगर्ने निर्णय पनि गरिसकेको छ।
पुस १३ गते भएको सहमतिपत्र अनुसार, रवि लामिछाने केन्द्रीय सभापति रहने र प्रतिनिधि सभाको निर्वाचनपछि बालेन्द्र शाह संसदीय दलको नेता तथा भावी प्रधानमन्त्री बन्नेछन्।
चैत १२ गते सांसदहरूको शपथपछि संसदीय दलको बैठक बस्ने र दलको नेता चयन गर्ने तयारी भइरहेको छ।

