एजेन्सी । मध्यपूर्व क्षेत्रमा तनाव बढ्दै जाँदा इरानले इजरायलमाथि गएराति शक्तिशाली क्षेप्यास्त्र आक्रमण गरेको छ। दक्षिणी शहर अरदमा केन्द्रित उक्त आक्रमणका कारण ठूलो भौतिक क्षति भएको जनाइएको छ।
इजरायलको आपतकालीन सेवा मागेन डेभिड एडोमका अनुसार आक्रमणमा परी कम्तीमा ८८ जना घाइते भएका छन्। तीमध्ये १० जनाको अवस्था गम्भीर रहेको छ भने १९ जना मध्यम र ५५ जना सामान्य अवस्थामा रहेका छन्। घाइतेहरूलाई नजिकका अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको छ।
आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरदका मेयरसँग टेलिफोन संवाद गरेका छन्। उनले यो घटनालाई “अत्यन्तै कठिन साँझ” का रूपमा वर्णन गर्दै देश कठिन अवस्थाबाट गुज्रिरहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले सबै सरकारी निकायलाई समन्वय गरेर प्रभावित क्षेत्रमा आवश्यक सहयोग उपलब्ध गराउन निर्देशन दिइएको जानकारी दिएका छन्।
प्रधानमन्त्री नेतान्याहुले आपतकालीन तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीहरूको मनोबल उच्च राख्न आग्रह गर्दै सर्वसाधारणलाई सुरक्षा सम्बन्धी निर्देशनहरू पालना गर्न अनुरोध गरेका छन्।

