काभ्रे । उर्लिएको रोशी खोलाको भेलमा जबर्जस्ती गाडी हालेर यात्रुको ज्यान जोखिममा पारेको आरोपमा पाँच जना माइक्रोबस चालकलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ।
मंगलबार साँझदेखि परेको अविरल वर्षापछि रोशी खोलाको बहाव अत्यधिक बढ्दा रोशी गाउँपालिका–७, घुमाउने चारसय वेशी क्षेत्रमा पाँच वटा माइक्रोबस खोलामै फसेका थिए। पूर्वतर्फबाट काठमाडौँतर्फ आउँदै गरेका ती गाडीमा सवार ८९ जना यात्रु जोखिममा परेका थिए।
यात्रुहरू फसेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली उद्धारमा खटिएको थियो। काभ्रे प्रहरीका अनुसार बुधबार बिहान करिब १ बजे सबै यात्रुको सकुशल उद्धार गरी सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ।
उद्धार कार्यका क्रममा सुरक्षाकर्मीहरूले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी साधन नचलाउन निर्देशन दिएका थिए। तर उक्त निर्देशन अवज्ञा गर्दै खोलामा गाडी हालेको भन्दै पाँचै जना चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन विष्टले जानकारी दिए।
पक्राउ परेका चालकहरूलाई हाल जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

