काठमाडौं । गृह मन्त्रालयले मन्त्रालय अन्तर्गत कार्यरत ६ सहसचिव र २ उपसचिव गरी ८ जना अधिकारीको सरुवा गरेको छ। मङ्गलवार प्रधानमन्त्री तथा गृहमन्त्रीस्तरीय निर्णयबाट विभिन्न जिल्ला प्रशासन कार्यालय, अध्यागमन कार्यालय तथा विभागीय जिम्मेवारीमा हेरफेर गरिएको हो।
सरुवा सूचीअनुसार अध्यागमन कार्यालय गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका प्रमुख अध्यागमन अधिकृतलाई दाङको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारी दिइएको छ। त्यस्तै कारागार व्यवस्थापन विभागका महानिर्देशक शशीधर घिमिरेलाई सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ।
यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेललाई कारागार व्यवस्थापन विभागको महानिर्देशक बनाइएको छ।
दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई रुपन्देहीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ भने धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई भक्तपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
उपसचिव तहमा गरिएको सरुवाअनुसार गृह मन्त्रालयमा कार्यरत उपसचिव निशानराज गौतमलाई जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा पठाइएको छ। रुकुम पश्चिममा कार्यरत दिनेशप्रसाद थानीलाई भने गृह मन्त्रालय तानिएको छ।
गृह मन्त्रालयले प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन तथा आवश्यकताअनुसार जिम्मेवारी व्यवस्थापन गर्न सरुवा गरिएको जनाएको छ।

