फिफा विश्वकप–२०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिनाले विजयी सुरुआत गरेको छ। समूह ‘जे’ अन्तर्गत भएको खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलअन्तरले पराजित गरेको हो।
अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेसी नायक बने। उनले खेलको १७, ६० र ७६ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। मेसीको विश्वकप करिअरमा यो पहिलो ह्याट्रिक हो।
खेलको १७ औँ मिनेटमा मेसीले टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि दोस्रो हाफमा थप दुई गोल गर्दै उनले अर्जेन्टिनाको जित सुनिश्चित गरे।
योसँगै मेसीले विश्वकपमा आफ्नो कुल गोल संख्या १६ पुर्याएका छन्। उनले जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजे को नाममा रहेको विश्वकपमा सर्वाधिक १६ गोलको कीर्तिमान बराबरी गरेका हुन्।
छैटौँ विश्वकप खेलिरहेका मेसीले प्रतियोगिताको पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनालाई महत्वपूर्ण तीन अंक दिलाएका छन्। जितसँगै अर्जेन्टिना समूह ‘जे’ मा बलियो स्थितिमा पुगेको छ भने अल्जेरियाले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ।

