काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आजदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ। उद्घाटन सत्रमा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण गरिएको छ।
रास्वपाका अनुसार उद्घाटन समारोहमा अधिकांश प्रमुख दलका प्रतिनिधिहरू सहभागी हुने भए पनि केही शीर्ष नेताहरू भने अनुपस्थित रहने भएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उद्घाटन सत्रमा सहभागी नहुने भएका छन्।
त्यसैगरी, नेपाली कांग्रेसका सभापति गगन थापा अन्तिम समयमा महाधिवेशनमा सहभागी हुने निर्णयमा पुगेका छन्। एमालेबाट केन्द्रीय सदस्य प्रदीप ज्ञवाली र माओवादी केन्द्रबाट नेता वर्षमान पुन सहभागी हुने भएका छन्।
जनमत पार्टीका अध्यक्ष सीके राउत र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि महाधिवेशनमा सहभागी हुन चितवन जाने भएका छन्।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि कार्यक्रममा सहभागी हुने भएका छन् भने श्रम संस्कृति पार्टीले भने कुनै प्रतिनिधि नपठाउने जनाएको छ।
रास्वपाको प्रथम महाधिवेशन आइतबार उद्घाटन हुने र असार ८ र ९ गते बन्द सत्र तथा निर्वाचन प्रक्रियासमेत सञ्चालन हुने पार्टीले जनाएको छ।

