चितवन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मुलुकलाई नयाँ दिशातर्फ लैजाने ऐतिहासिक अवसर प्राप्त भएको बताएका छन्।
भरतपुरमा आइतबार आयोजित रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले विगतका विकृति र विसंगतिबाट मुक्त भएर देशलाई नयाँ मार्गमा अघि बढाउने जिम्मेवारी रास्वपामाथि आएको बताए।
अध्यक्ष यादवले मुलुक अहिले सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायको खोजीमा रहेको उल्लेख गर्दै त्यसका लागि राजनीतिक दलहरूले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
उनले सुशासन र सामाजिक न्यायलाई विकास तथा समृद्धिको आधारभूत शर्तका रूपमा प्रस्तुत गर्दै रास्वपालाई नयाँ राजनीतिक अभ्यासमार्फत जनअपेक्षा सम्बोधन गर्न आग्रह गरे।
सम्बोधनका क्रममा यादवले संविधान संशोधनको आवश्यकता औंल्याउँदै संघीयता, गणतन्त्र, समावेशीता र धर्मनिरपेक्षताजस्ता उपलब्धिहरू भए पनि केही प्रावधान अझै अपूरा र विरोधाभासपूर्ण रहेको धारणा राखे।
“संविधानलाई संशोधन र परिमार्जन गरी कमजोरी र विसंगतिलाई हटाउनु आजको आवश्यकता हो,” उनले बताए।
उनले रास्वपाको प्रथम महाधिवेशनले मुलुकको राजनीतिक परिवर्तन र नयाँ सुरुवातका लागि ऐतिहासिक निर्णय गर्ने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना समेत दिए।

