विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग संसद् र सडक दुवै मोर्चामा सहकार्य अघि बढाउने घोषणा गरेका छन्।
शुक्रबार विराटनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिमा एमालेसँगको सहकार्य अपरिहार्य भएको बताए। उनले तत्काल पार्टी एकताको सम्भावना नरहे पनि सहकार्यका लागि आवश्यक वातावरण तयार भइसकेको उल्लेख गरे।
आगामी महाधिवेशनलाई संकेत गर्दै प्रचण्डले आफ्नो राजनीतिक जीवनमा फेरि ‘क्रमभंग’ हुने दाबी गरे। उनले यसलाई आफ्नो जीवनको अन्तिम क्रमभंगको संज्ञा दिँदै त्यसका लागि पार्टी पंक्तिलाई तयार रहन आग्रह गरे।
सम्बोधनका क्रममा प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि पनि कडा आलोचना गरे। सिमानामा सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार असुल्ने तथा गरिब सुकुम्बासीका बस्ती भत्काएर रास्वपाले आफ्नो वास्तविक चरित्र देखाएको आरोप उनले लगाए। रास्वपा आफ्नै गतिविधिका कारण जनताको नजरमा कमजोर बन्दै गएको उनको भनाइ थियो।
उनले वर्तमान सरकार नवउदारवादी र फासिस्ट शैलीमा अघि बढिरहेको आरोप लगाउँदै रास्वपालाई गरिब, सुकुम्बासी, जनजाति तथा उत्पीडित समुदायविरुद्ध उभिएको दलको रूपमा चित्रण गरे। साथै, रास्वपाले प्रदेश संरचना र संविधान नै खारेज गर्ने प्रयास गरिरहेको दाबी गर्दै त्यसविरुद्ध सशक्त राजनीतिक संघर्ष आवश्यक रहेको बताए।

