फिफा विश्वकप २०२६ अन्तर्गत रोमाञ्चक प्रतिस्पर्धामा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै मोरक्को अन्तिम १६ मा प्रवेश गरेको छ।
निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। नाटकीय बनेको सुटआउटमा मोरक्कोका गोलकिपर यासिन बोनो नायक बने। उनले एक महत्वपूर्ण पेनाल्टी बचाउँदा नेदरल्यान्ड्सका अन्य दुई खेलाडी पनि गोल गर्न असफल रहे।
मोरक्कोका सौफिन रहिमी, चेम्सडाइन ताल्बी र इस्माइला साइबरीले पेनाल्टीमा गोल गरे। नेइल एल आइनाउइको प्रहार बाहिरिँदा कप्तान असरफ हाकिमीको प्रहार पोस्टमा लागेर फर्किएको थियो।
नेदरल्यान्ड्सका टिउन कुपमेइनर्स र वाउट वेघोस्टले मात्र गोल गर्न सके। जस्टिन क्लुइभर्टको प्रहार पोस्टमा लागेर फर्कियो भने क्विन्टन टिम्बरको प्रहार बाहिरियो। क्रेइसेन्सियो समरभिलको प्रहार भने बोनोले उत्कृष्ट रूपमा बचाएका थिए।
यसअघि ग्वाडालाजारा स्टेडियममा भएको खेलमा ७२औँ मिनेटमा कोडी गाक्पोले क्रेइसेन्सियो समरभिलको पासमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए। तर इन्जुरी समयको पहिलो मिनेटमा इसा डिओपले चेम्सडाइन ताल्बीको पासलाई सदुपयोग गर्दै बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।
सन् २०२२ को विश्वकपमा सेमिफाइनल पुगेर इतिहास रचेको मोरक्कोले अब अन्तिम १६ मा सहआयोजक क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।

