काठमाडौं । यातायात व्यवस्था विभागले डिजेलको मूल्य घटेसँगै अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायात तथा मालबाहक सवारीसाधनको भाडादर २ प्रतिशतले घटाएको छ। नयाँ भाडादर बिहीबारदेखि नै लागू भएको विभागले जनाएको छ।
विभागले बिहीबार जारी गरेको सूचनाअनुसार गत असार १७ गते मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेपछि स्वचालित भाडा समायोजन प्रणालीअनुसार भाडादर पुनः निर्धारण गरिएको हो।
विभागका अनुसार पछिल्लोपटक भाडादर समायोजन गर्दा डिजेलको औसत मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा रहेको थियो। असार १७ गतेदेखि डिजेलको औसत मूल्य १९३ रुपैयाँ ८३ पैसा कायम भएपछि त्यसको प्रभावस्वरूप सार्वजनिक तथा मालबाहक सवारीको भाडा २ प्रतिशतले घटाइएको हो।
यसअघि २०८३ वैशाख १२ गते मन्त्रिस्तरीय निर्णयअनुसार सार्वजनिक तथा मालबाहक सवारीसाधनको भाडा ५ प्रतिशतले वृद्धि गरिएको थियो।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले पनि विभागले सार्वजनिक यातायात र मालबाहक सवारीसाधनको भाडा २ प्रतिशतले घटाएको जानकारी दिए।
विभागले नयाँ भाडादर तत्काल कार्यान्वयनमा ल्याउन सम्बन्धित सबै यातायात व्यवसायी तथा सरोकारवाला निकायलाई आग्रह गरेको छ।

