काठमाडौं । स्टार फरवार्ड एर्लिङ हालान्डको दुई गोलको मद्दतमा नर्वेले पाँच पटकको विश्वविजेता ब्राजिललाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा ऐतिहासिक प्रवेश गरेको छ।
विश्वकपमा चौथो पटक सहभागी भएको नर्वेले पहिलो पटक अन्तिम आठमा स्थान बनाउँदै नयाँ इतिहास रचेको हो। पराजयसँगै ब्राजिल भने ३६ वर्षपछि अन्तिम १६ बाटै बाहिरिएको छ। यसअघि ब्राजिल सन् १९९० को विश्वकपमा पनि प्रि–क्वार्टरफाइनलबाटै बाहिरिएको थियो।
ब्राजिलविरुद्ध विश्वकपमा नर्वेको यो दोस्रो जित हो। यसअघि सन् १९९८ को विश्वकपमा पनि नर्वेले ब्राजिललाई २–१ ले नै पराजित गरेको थियो।
ब्राजिलसँग अहिलेसम्म भएका पाँच भेटमा नर्वे अपराजित रहेको छ। यस ऐतिहासिक जितसँगै नर्वेले अब क्वाटरफाइनलमा मेक्सिको र इंग्ल्यान्डबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

