दश खेलाडीमा सीमित रहेर पनि इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।
यस जितसँगै इंग्ल्यान्डले अब क्वाटरफाइनलमा नर्वेसँग प्रतिस्पर्धा गर्नेछ। नर्वेले अन्तिम १६ मा पाँच पटकको विश्वविजेता ब्राजिललाई २–१ ले हराउँदै पहिलो पटक क्वाटरफाइनलमा स्थान बनाएको थियो।
मेक्सिको सिटीस्थित अज्टेका स्टेडियममा सोमबार बिहान सम्पन्न रोमाञ्चक खेलमा इंग्ल्यान्डका लागि जुड बेलिङहमले दुई तथा कप्तान ह्यारी केनले एक गोल गरे।
घरेलु टोली मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमिनेजले एक–एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
राउण्ड अफ ३२ सम्म कुनै गोल नखाई शतप्रतिशत जित निकाल्दै आएको मेक्सिको अन्तिम १६ बाटै बाहिरिने दोस्रो सहआयोजक टोली बनेको छ। यसअघि अर्को सहआयोजक क्यानडा पनि प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको थियो।

