काठमाडौं । विशेष अदालतले टेरामक्स खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा मोहनबहादुर बस्नेत लाई सफाइ दिएको छ भने पूर्वसचिव धनराज ज्ञवाली र दिगम्बर झा सहित तीन जनालाई दोषी ठहर गरेको छ।
न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइराला को इजलासले सोमबार उक्त फैसला सुनाएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले २०८२ जेठ १ गते टेरामक्स खरिद प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै सम्बन्धित व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
विशेष अदालतले दोषी ठहर भएका प्रतिवादीहरूलाई जनही ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ। अदालतले यस मुद्दामा बिगो कायम गर्न नमिल्ने ठहर गर्दै जरिवाना मात्रै निर्धारण गरेको जनाएको छ।
यस्तै, तत्कालीन अध्यक्षको हैसियतका कारण दिगम्बर झालाई थप ६ महिना कैद सजाय सुनाइएको छ। अदालतले नेतृत्वदायी भूमिकामा रहेका कारण उनलाई अतिरिक्त सजाय हुने उल्लेख गरेको छ।

