काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ८ वटा निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मीत पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै मुख्यसचिवमा गोविन्दबहादुर कार्कीको नियुक्तिदेखि शिक्षा, स्वास्थ्य, कारागार तथा सुशासनसँग सम्बन्धित विभिन्न नियमावली र रणनीति स्वीकृत गरिएको जानकारी दिए।
बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ। साथै, काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्यलाई नियुक्त गरिएको छ।
यस्तै, कैलालीस्थित गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको छ।
शिक्षा क्षेत्रतर्फ विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ तथा शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गरिएको छ।
त्यसैगरी, कारागार नियमावली, २०८३ स्वीकृत गर्नुका साथै मानव अधिकारसम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना (२०८३/८४–२०८७/८८) र भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२/८३–२०८७/८८) पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए।
सरकारले यी निर्णयहरू प्रशासनिक सुधार, शिक्षा क्षेत्रको नियमन, स्वास्थ्य सेवा विस्तार तथा सुशासनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ गरिएको जनाएको छ।

