काठमाडौं। मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय जलनका बिरामी गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलैजाने निर्णय गरिएको छ। स्वास्थ्य अवस्था अस्थिर रहेकाले अहिलेको अवस्थामा स्थानान्तरण गर्दा ज्यानमा थप जोखिम हुन सक्ने चिकित्सकहरूको सुझावपछि सरकारले यो निर्णय गरेको हो।
यसअघि चिकित्सकहरूको प्रारम्भिक सिफारिसका आधारमा सरकारले गणेश नेपालीलाई भारतको नयाँ दिल्लीस्थित एम्स (AIIMS) अस्पतालमा उपचारका लागि पठाउने सम्पूर्ण तयारी पूरा गरेको थियो। सरकारले एयर एम्बुलेन्सको व्यवस्था गर्नुका साथै भारतको विमानस्थलदेखि एम्स अस्पतालसम्मको सम्पूर्ण बन्दोबस्त समेत मिलाइसकेको थियो।
उहाँलाई तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याउन गृहमन्त्री सुदन गुरुङ स्वयं सक्रिय भई सडक व्यवस्थापनका लागि नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई रातभर परिचालन गरिएको थियो। सरकारले उपचारको सम्पूर्ण खर्च पनि सरकारी कोषबाट व्यहोर्ने घोषणा गरेको छ।
तर, वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरको सहारामा उपचाररत गणेश नेपालीको स्वास्थ्य अवस्था थप जटिल बनेपछि चिकित्सकहरूले तत्काल स्थानान्तरण नगर्न सरकारलाई सुझाव दिएका हुन्। चिकित्सकहरूका अनुसार स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजान उपयुक्त हुनेछ।
चिकित्सकहरूको यही सुझावपछि गृहमन्त्री गुरुङ तथा प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका सदस्यहरू वीर अस्पतालमै तयारी अवस्थामा बसेर उपचारको अवस्थाबारे निरन्तर निगरानी गरिरहेका छन्।
बिहीबार दिउँसो करिब ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका गणेश नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ।
हाल वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेष टोली उहाँको उपचारमा खटिएको छ।
चिकित्सकहरूको टोलीले रक्तचाप नियन्त्रणमा राख्न र स्वास्थ्य अवस्थालाई स्थिर बनाउने उद्देश्यले निरन्तर विशेष औषधि तथा सघन उपचार जारी राखेको जनाएको छ। सरकारले आवश्यक परे स्वास्थ्य अवस्था सुधार भएपछि भारतमा थप उपचारका लागि लैजाने तयारी यथावत् रहेको जनाएको छ।

