काठमाडौं। गणेश नेपाली मृत्यु प्रकरणमा छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले घटनाको निष्पक्ष छानबिनका लागि डीआईजी थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको जानकारी दिएका हुन्।
गठित समितिमा काठमाडौं प्रहरी परिसर तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारीहरू सदस्य रहेका छन्। समितिले घटनाका सबै पक्षको अनुसन्धान गरी प्रतिवेदन पेश गर्नेछ।
बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा नगर प्रहरीसँग विवाद भएपछि गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको शुक्रबार बिहान वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
सरकारले घटनाको सत्यतथ्य पत्ता लगाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

