काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ (जलन) उपचार केन्द्र स्थापना गर्ने योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलमा उनले प्रमुख सरकारी अस्पतालका बर्न वार्डलाई सुदृढ बनाउन आवश्यक योजना कार्यान्वयन गर्न पनि निर्देशन दिए।
प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। गुणस्तरीय, प्रभावकारी र नागरिकमैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले अस्पतालको सरसफाइ, सेवा प्रवाहमा सुधार, डिजिटल प्रविधिको प्रयोग तथा सुशासनको प्रभावकारी कार्यान्वयनमा जोड दिए।
उनले विपन्न, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालहरूले बहिरङ्ग (ओपिडी) सेवाको कम्तीमा १० प्रतिशत सेवा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि निर्देशन दिए।
प्रधानमन्त्री शाहले एक स्वास्थ्य संस्थाले विकास गरेका उत्कृष्ट अभ्यास अन्य संस्थाले पनि अपनाउनुपर्नेमा जोड दिँदै प्रतिष्ठानका नाममा रहेका अतिक्रमित जग्गाको समस्या सम्बन्धित निकायसँग समन्वय गरी कानुनबमोजिम समाधान गरिने बताए।
छलफलमा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, स्वास्थ्य सेवा सुधार, अस्पतालको सरसफाइ, विशेषज्ञ सेवा विस्तार, दक्ष स्वास्थ्य जनशक्ति व्यवस्थापन, अनुसन्धान प्रवर्द्धन, पूर्वाधार विकास तथा स्वास्थ्य सेवाको डिजिटल रूपान्तरणका विषयमा सुझाव प्रस्तुत गरेका थिए। उनीहरूले केही प्रतिष्ठानको जग्गा अतिक्रमणका कारण संस्थागत विकासमा परेको असरबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
छलफलमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान का उपकुलपतिहरू सहभागी थिए।

