काठमाडौं। फिफा विश्वकप–२०२६ अन्तर्गत दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डमाथि २–१ को रोमाञ्चक पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको छ।
अमेरिकाको एटलान्टास्थित स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले ५५औँ मिनेटमा एन्थोनी गोर्डनको गोलमार्फत अग्रता बनाएको थियो। तर अन्तिम समयमा अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्यो।
अर्जेन्टिनाका कप्तान लियोनल मेसीको पासमा ८५औँ मिनेटमा एन्जो फर्नान्डेजले बराबरी गोल गरे। त्यसपछि अतिरिक्त समयको दोस्रो मिनेटमा फेरि मेसीकै असिस्टमा लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई २–१ को जित दिलाए।
यस जितसँगै सन् २०२२ को विश्वविजेता अर्जेन्टिना लगातार दोस्रो संस्करणको विश्वकप फाइनलमा पुगेको छ।
अब उपाधिका लागि अर्जेन्टिनाले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने सेमिफाइनलमा पराजित इंग्ल्यान्डले तेस्रो स्थानका लागि फ्रान्ससँग खेल्नेछ।

