काठमाडौं । फेरान टोरेसको अतिरिक्त समयमा गरेको निर्णायक गोलको मद्दतमा स्पेनले साविक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप–२०२६ को उपाधि जितेको छ। सोमबार बिहान अमेरिकाको न्युजर्सीस्थित न्युजर्सी स्टेडियममा भएको रोमाञ्चक फाइनलमा स्पेनले १६ वर्षपछि पुनः विश्वकपको ट्रफी उचाल्न सफल भयो।
निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। खेलको १०६औँ मिनेटमा फेरान टोरेसले गरेको गोल नै स्पेनको जितको आधार बन्यो। उनले ११४औँ मिनेटमा अर्को गोल गरे पनि अफसाइडका कारण त्यसलाई मान्यता दिइएन।
इन्ज्युरी समयको तेस्रो मिनेटमा अर्जेन्टिनाका इन्जो फर्नान्डेजले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो। त्यसपछि स्पेनले थप दबाब सिर्जना गर्दै जित सुनिश्चित गर्यो।
योसँगै स्पेनले सन् २०१० पछि पहिलो पटक विश्वकप जित्दै दोस्रो विश्व उपाधि आफ्नो नाममा लेखाएको छ। यता अर्जेन्टिनाले लगातार दोस्रो पटक विश्व च्याम्पियन बन्ने अवसर गुमाएको छ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका अर्जेन्टिनी कप्तान लियोनल मेस्सी फाइनलमा गोल गर्न असफल भएपछि गोल्डेन बुट जित्ने दौडबाट बाहिरिए। यसपटक फ्रान्सका कप्तान केलियन एमबाप्पे सर्वाधिक गोलकर्ताका रूपमा गोल्डेन बुट जित्न सफल भए।
अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपको यो २३औँ संस्करणमा पहिलो पटक ४८ राष्ट्र सहभागी भएका थिए। प्रतियोगितामा कुल १०४ खेल खेलिएका थिए।
अब विश्वकपको २४औँ संस्करण सन् २०३० मा स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्नेछन्। विश्वकपको १०० वर्ष पूरा भएको अवसरमा उद्घाटन खेलहरू भने उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा पनि खेलाइने तय भएको छ।

