काठमाडौं । नेपाल चिकित्सक संघले बुधबार देशभरका अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडका दोषीलाई कारबाही गर्न सरकारले बेवास्ता गरेको भन्दै संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।
मंगलबार संघको केन्द्रीय कार्यालयमा बसेको आकस्मिक बैठकले बुधबार देशभरका स्वास्थ्य संस्थामा ओपीडीसहितका नियमित सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ।
घटना भएको चार दिन बितिसक्दा पनि दोषीलाई पक्राउ गरी कानुनी कारबाही नगरिएको र न्यायको माग गर्दै गएका चिकित्सकमाथि पर्साका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखबाट दुर्व्यवहार भएको संघको आरोप छ।
आन्दोलनअन्तर्गत बुधबार बिहान १० बजे काठमाडौं उपत्यकाका चिकित्सक तथा स्वास्थ्यकर्मी माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ। उपत्यका बाहिरका चिकित्सकहरूले भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने र कार्यरत स्वास्थ्य संस्थामा धर्ना दिने जनाइएको छ।
संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा जारी विज्ञप्तिमा विभिन्न विशेषज्ञ समाज, निजी स्वास्थ्य संस्था तथा सरोकारवाला निकायलाई आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गरिएको छ।
यसअघि पनि संघले मंगलबार देशभर ओपीडी सेवा बन्द गरेर विरोध जनाएको थियो।

