काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी लगायतका जिल्लामा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताएका छन्। उनले नागरिकको जिउधनको सुरक्षा, सामाजिक सद्भाव कायम राख्ने र घटनाको निष्पक्ष छानबिन सरकारको प्रमुख प्राथमिकता रहेको स्पष्ट पारे।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राज्यका सम्पूर्ण सुरक्षा संयन्त्र उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई संयमित रहन आग्रह गरे।
प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ गर्न सरकारले बहुपक्षीय रणनीति अपनाएको जानकारी दिँदै सबै सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा पुगेर नागरिक र राज्यबीच विश्वासको पुल बन्न आह्वान गरे। आपत्कालीन अवस्थामा जनताको घरदैलोमा पुगेर साथ दिनु जनप्रतिनिधिको प्रमुख दायित्व भएको उनले बताए।
छलफलमा सहभागी सांसदहरूले प्रधानमन्त्रीको आग्रहलाई सकारात्मक रूपमा लिँदै तत्काल आफ्नो निर्वाचन क्षेत्रमा खटिने प्रतिबद्धता जनाएका छन्। उनीहरूले प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधनले विशेषगरी प्रभावित क्षेत्रमा सकारात्मक सन्देश र विश्वासको वातावरण सिर्जना गरेको धारणा पनि व्यक्त गरेका छन्।
सांसदहरूले दीर्घकालीन शान्ति र सामाजिक सद्भाव कायम राख्न धार्मिक अगुवा, नागरिक समाज, बुद्धिजीवी तथा स्थानीय राजनीतिक दलसँग निरन्तर संवाद आवश्यक रहेको सुझाव दिएका छन्। साथै, सामाजिक सञ्जालमा फैलिने भ्रम र अफवाहबाट युवालाई जोगाउन स्थानीय स्तरमा जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्नेमा पनि जोड दिएका छन्।

