काठमाडौं । प्रधानमन्त्री एवं रक्षामन्त्री वालेन्द्र शाह ‘बालेन’सँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटवार्तामा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए।
प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष सेठ चारदिने भ्रमणका क्रममा आइतबार काठमाडौं आएका हुन्। भ्रमणका क्रममा उनले नेपालका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गरिरहेका छन्।
सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए। नेपाल र भारतबीच सन् १९५० देखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा रहँदै आएको छ।
यसै क्रममा सोमबार नै प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच द्विपक्षीय भेटवार्ता भएको थियो।
भारतीय स्थल सेनाध्यक्ष सेठको नेपाल भ्रमणका क्रममा नेपाल–भारतबीचको सैनिक सम्बन्ध तथा द्विपक्षीय सहकार्यका विषयमा भेटवार्ता र कार्यक्रमहरू भइरहेका छन्।

