तेहरान । बगदादको बारम्बार अनुरोधपछि इरानले केही इराकी तेल ट्यांकरहरूलाई रणनीतिक महत्वको हर्मुज जलमार्ग पार गर्न अनुमति दिएको इरानी सञ्चारमाध्यमले जनाएको छ।
इरानी सरकारी समाचार संस्था इर्नाका अनुसार संयुक्त राज्य अमेरिकाका गतिविधिका कारण जलमार्गमा उत्पन्न सैन्य तनाव र असुरक्षाबीच पनि तेहरानले विगत छ महिनायता केही इराकी तेल ट्यांकरलाई हर्मुज पार गर्न अनुमति दिएको हो।
रिपोर्टअनुसार इराकले आफ्ना तेल ट्यांकरहरूको आवागमन सहज बनाउन विभिन्न माध्यमबाट इरानी अधिकारीसँग अनुरोध गर्दै आएको थियो। इरानी सभामुख तथा अमेरिकासँगको वार्ताका प्रमुख वार्ताकार मोहम्मद बागेर गालिबाफको इराक भ्रमणका क्रममा समेत यस विषयमा अनुरोध गरिएको बताइएको छ।
मध्यपूर्वमा फेब्रुअरी २८ देखि युद्ध सुरु भएपछि इरानले महत्वपूर्ण हर्मुज जलमार्गमाथि नियन्त्रण दाबी गर्दै आएको छ। इरानले जलमार्ग प्रयोग गर्नुअघि जहाजहरूले अनुमति लिनुपर्ने तथा पारवहन शुल्क तिर्नुपर्ने व्यवस्था गरेको जनाएको छ।
यता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हर्मुज जलमार्गमा वासिङ्टनको ‘पूर्ण नियन्त्रण’ रहेको दाबी गरेका छन्।
युद्धअघि हर्मुज जलमार्गबाट विश्वको करिब पाँचौँ भाग तेल तथा तरल प्राकृतिक ग्यास (एलएनजी) निर्यात हुने गरेको थियो। इर्नाले इराकसँग आफ्नो अधिकांश कच्चा तेल निर्यातका लागि हर्मुज जलमार्गबाहेक प्रभावकारी विकल्प नरहेको उल्लेख गरेको छ।
इराकी अधिकारीहरूले थप ट्यांकरलाई अनुमति दिन इरानी पक्षसँग निरन्तर आग्रह गरिरहेको समाचारमा जनाइएको छ।
यसैबीच इरान र ओमान हर्मुज क्षेत्र हुँदै नयाँ समुद्री मार्ग स्थापना गर्ने विषयमा वार्तामा रहेका छन्। तर वार्ता अहिलेसम्म निष्कर्षमा पुगेको छैन। तेहरानले नयाँ मार्ग निर्माण भए पनि अमेरिकाले आफ्ना व्यापक माग पूरा नगरेसम्म त्यसबाट मात्र जलमार्ग पूर्ण रूपमा खुला नहुने बताएको छ।

