काठमाडौं । गगन थापा नेतृत्वको आधिकारिक समूहले घोषणा गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्ष र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दर्ता गरेका छन्।
यसअघि शुक्रबार सर्वोच्च अदालतमा पेस गरिएको रिट निवेदन सच्याउनुपर्ने भएपछि फिर्ता लगिएको थियो। सोमबार देउवा र खड्का पक्षका तर्फबाट कानून व्यवसायीमार्फत छुट्टाछुट्टै रिट दर्ता गरिएको नेता मीनबहादुर विश्वकर्माले बताएका छन्।
रिट निवेदनमा गगन थापा नेतृत्वको समूहले आगामी असोजमा गर्ने गरी अघि बढाएको १५औँ महाधिवेशनको कार्यतालिका रोक्न माग गरिएको छ।
देउवा पक्षले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा पुनः सुनुवाइ गर्न सर्वोच्च अदालतले अनुमति दिइसकेको अवस्थामा सो विवादको अन्तिम टुंगो नलाग्दासम्म महाधिवेशनसम्बन्धी प्रक्रिया अघि बढाउन नमिल्ने तर्क गरेको छ।
गगन थापा नेतृत्वको समूहले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। तर, इतर पक्षको भेलाले गगन थापालाई पार्टी सभापतिका रूपमा स्वीकार नगर्ने निर्णय गर्दै शेरबहादुर देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको थियो।
नेपाली कांग्रेसभित्र आधिकारिकता र महाधिवेशनको विषयलाई लिएर विवाद चर्किरहेका बेला देउवा र खड्का पक्ष सर्वोच्च अदालत पुगेको हो। अब सर्वोच्च अदालतको निर्णयले कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका र पार्टीको आन्तरिक राजनीतिक समीकरणमा महत्वपूर्ण प्रभाव पार्न सक्ने देखिएको छ।
देउवा पक्षले गगन समूहले तोकेको अन्तिम मितिसम्म पनि महाधिवेशन सम्पन्न हुन नसके पार्टीको वैधानिकतामाथि समेत प्रश्न उठ्न सक्ने तर्क गरेको छ।

