काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा तिब्बततर्फबाट एक्कासि ठूलो बाढी प्रवेश गरेपछि त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
बुधबार बिहान करिब सवा ९ बजे भोटेकोसी नदीमा अचानक ठूलो बाढी आएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। बाढी नुवाकोट सदरमुकामभन्दा अगाडि बढिसकेको महाशाखाको भनाइ छ।
महाशाखाले अर्को सूचना जारी नभएसम्म त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
रसुवा र नुवाकोटका सम्पूर्ण क्षेत्र, पृथ्वी राजमार्गदेखि मुग्लिनसम्म त्रिशूली नदीसँग जोडिएका क्षेत्र तथा चितवनसम्म बाढीको प्रभाव पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
माथिल्लो क्षेत्रमा ठूलो वर्षा नभएको अवस्थामा समेत एक्कासि बाढी आउनुको कारणबारे चीनसँग समन्वय गरी जानकारी लिने तयारी भइरहेको महाशाखा प्रमुख विनोद पराजुलीले बताए।
उनका अनुसार बाढीको अवस्था तथा सम्भावित जोखिमबारे थप सूचना प्राप्त भएपछि आवश्यक जानकारी सार्वजनिक गरिनेछ। त्रिशूली नदी आसपासका बासिन्दालाई नदीको बहाव बढ्न सक्ने भएकाले सतर्क रहन र जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरिएको छ।

