अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीले राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गरेका छन्। कोपा अमेरिका फाइनलपछि लेखेको भनिएको एक भावुक सन्देश सार्वजनिक गर्दै मेस्सीले अर्जेन्टिनाको जर्सीमा आफ्नो यात्रा अन्त्य गर्ने निर्णयले आफूलाई निकै पीडा दिएको बताएका छन्।
मेस्सीले राष्ट्रिय टोलीका लागि आफूले सधैँ शतप्रतिशत योगदान दिएको उल्लेख गर्दै पछिल्ला केही वर्षमा मात्र नभई आफ्नो सम्पूर्ण अन्तर्राष्ट्रिय करियरमा टोलीका लागि सबै कुरा दिएको बताएका छन्।
उनले भनेका छन्, “अब धेरै समय बाँकी छैन र केही अध्यायहरू बन्द हुँदैछन्। यो अध्यायले मलाई धेरै पीडा दिएको छ। मैले राष्ट्रिय टोलीका लागि खेल्न सधैँ माया गरेको छु र सधैँ माया गरिरहनेछु।”
राष्ट्रिय टोलीमा नयाँ पुस्ताका उत्कृष्ट खेलाडीहरू आइरहेको उल्लेख गर्दै मेस्सीले उनीहरूलाई अवसर दिनुपर्ने बताएका छन्। उनले आफूले अब राष्ट्रिय टोलीबाट बाहिर बसेर अर्जेन्टिनालाई समर्थन गर्ने बताएका छन्।
मेस्सीले राष्ट्रिय टोलीसँग बिताएका २० वर्षप्रति समर्थकलाई धन्यवाद दिँदै परिवार, प्रशिक्षक, सहकर्मी खेलाडी तथा टोलीका पदाधिकारीप्रति समेत आभार व्यक्त गरेका छन्।
अर्जेन्टिनाका लागि विश्वकप तथा कोपा अमेरिका जित्दाका क्षणलाई स्मरण गर्दै उनले ती उपलब्धिहरू आफ्ना सहकर्मीसँग मिलेर हासिल गर्न पाउनु अविस्मरणीय रहेको बताएका छन्।
उनले भावुक हुँदै भनेका छन्, “म तपाईंहरूलाई माया गर्छु। अर्जेन्टिनालाई भगवान्ले मेरो देश बनाउनुभएकोमा धन्यवाद। गो अर्जेन्टिना!”
मेस्सीले यो सन्देश जुलाई २१ मा फाइनलको दुई दिनपछि लेखेको र पछिल्लो घटनापछि राष्ट्रिय टोलीबाट सन्यास लिने आफ्नो निर्णयप्रति अझ दृढ भएको बताएका छन्।

