- प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा परेको पीडा ती जिल्लाको मात्र नभई सम्पूर्ण नेपालीको साझा पीडा भएको बताएका छन्।
- बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतलाई तीव्र बनाइएको तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि ठोस योजनासहित काम भइरहेको प्रधानमन्त्रीको भनाइ छ।
- विपद्को समयमा राजनीतिक मतभेदभन्दा माथि उठेर राजनीतिक दल, नागरिक समाज र आम नागरिक एकजुट हुनुपर्नेमा शाहले जोड दिएका छन्।
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङमा पुर्याएको पीडा ती जिल्लाका नागरिकको मात्र नभई सम्पूर्ण नेपालीको साझा पीडा भएको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीका कारण क्षणभरमै धेरै परिवारले आफ्ना आफन्त गुमाउनुपरेको भन्दै दुःख व्यक्त गरे।
“भोटेकोशीमा आएको बाढीले क्षणभरमै आमाबुबा, दाजुभाइ र दिदीबहिनी खोसेर लग्यो,” प्रधानमन्त्री शाहले भने, “यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्रै होइन, सम्पूर्ण नेपालीको छातीमा परेको पीडा हो।”
उनले विपद्को कठिन घडीमा सरकार प्रभावित नागरिकको साथमा रहेको बताए। प्राकृतिक प्रकोपसँग जुध्नुको विकल्प नरहेको उल्लेख गर्दै सरकारले खोज तथा उद्धार, राहत र पुनर्निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी दिए।
प्रधानमन्त्री शाहका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका काम तीव्र पारिएका छन्। बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि समेत सरकारले ठोस योजना बनाएर काम गरिरहेको उनले बताए।
बाढीले सडक, पुल तथा अन्य पूर्वाधारमा क्षति पुर्याउनुका साथै ठूलो संख्यामा नागरिकलाई प्रभावित बनाएको अवस्थामा तत्काल राहतसँगै पुनःस्थापना र पुनर्निर्माण सरकारको प्राथमिकतामा रहेको प्रधानमन्त्रीको भनाइ छ।
शाहले विपद्को सामना सरकारको प्रयासबाट मात्रै सम्भव नहुने भन्दै राजनीतिक दल, नागरिक समाज र आम नागरिकबीच सहकार्य आवश्यक रहेको बताए। विपद्का बेला राजनीतिक मतभेदभन्दा माथि उठेर सबै पक्ष एकजुट हुनुपर्नेमा उनले जोड दिए।
प्रधानमन्त्री शाहले सामूहिक प्रयास र सहकार्यबाट मात्रै अहिलेको विपद्को प्रभावकारी सामना गर्न तथा प्रभावित क्षेत्रलाई पुनः सामान्य अवस्थामा फर्काउन सकिने बताएका छन्।

