काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुनःस्थापनाका लागि सरकारसँग उपलब्ध तथा दातृ निकायबाट प्राप्त स्रोतसाधन परिचालन गर्ने तयारी भइरहेको बताए।
उनले बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँगको छलफलले उनीहरूको मनोबल उच्च राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। विपद्का समयमा संघ, प्रदेश र स्थानीय तहबीच तत्काल समन्वय भएकोमा खुसी व्यक्त गर्दै उनले यस विपद्ले तीन तहबीचको सहकार्यलाई व्यवहारमै देखाएको बताए।
“यसअघि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुँदैन भन्ने सुन्दै आएका थियौँ, तर यस विपद्मा हामी एकै ठाउँमा उभियौँ, मिलेर काम गर्यौँ,” प्रधानमन्त्री शाहले भने।
प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सडक सञ्जाल पुनःस्थापना गर्ने गरी सरकारले निरन्तर काम गरिरहेको बताए। सडक सञ्जाल सञ्चालनमा आएपछि प्रभावितहरूलाई पूर्ववत् अवस्थामा फर्कन सहज हुने उनको भनाइ थियो।
उनले सुरुआतदेखि नै नदी तटीय क्षेत्रमा रहेका बस्ती जोखिममा रहेको विषय उठाउँदै आएको उल्लेख गर्दै अब रसुवामा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने बताए। प्रभावित क्षेत्रबाट नजिकै तर सुरक्षित स्थानमा नयाँ बस्ती बसाउने गरी सरकारले तयारी सुरु गरेको उनले जानकारी दिए।
“बस्ती बसाउँदा प्रभावित मानिसहरूको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृतिलगायतलाई ध्यान दिनुपर्छ र पूर्ववत् अवस्था उपलब्ध हुनुपर्छ, खेतीयोग्य जमिन जोगाउँदै वैज्ञानिक बस्ती व्यवस्थापन गर्नुपर्छ,” प्रधानमन्त्री शाहले भने।
यसका लागि स्थानीय जनप्रतिनिधिहरूलाई सुरक्षित स्थानका लागि जग्गा पहिचान गरी संघ सरकारलाई सिफारिस गर्न उनले आग्रह गरे।
प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको छलफलबाट बाढीपछिको वास्तविक अवस्था बुझ्नसमेत सहयोग पुगेको प्रधानमन्त्री शाहले बताए।

