काठमाडौं । सरकारले भारत, चीन, संयुक्त राज्य अमेरिकासहित १३ देशका लागि नेपाली राजदूत नियुक्तिको सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूतमा सिफारिस भएका व्यक्तिहरूको नाम संसदीय सुनुवाइका लागि सङ्घीय संसद्समक्ष पठाउने निर्णय गरेको हो। १३ देशका लागि राजदूत सिफारिस भएको विवरण अन्य सार्वजनिक स्रोतबाट समेत पुष्टि भएको छ।
मन्त्रिपरिषद्ले भारतका लागि डा. निश्चल नाथ पाण्डे, चीनका लागि डा. कल्याण राज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरन जङ्ग थापालाई राजदूतमा सिफारिस गरेको छ। बेलायतका लागि गौरव शमशेर जङ्गबहादुर राणा, जर्मनीका लागि सरू जोशी, इजरायलका लागि सुरेश कुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचन सिफारिस भएका छन्।
त्यस्तै जापानका लागि जिज्ञान कुमार थापा, ओमानका लागि डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचला झा र साउदी अरेबियाका लागि गिरि बहादुर सुनारलाई राजदूतमा सिफारिस गरिएको छ।
राजदूतमा सिफारिस भएका व्यक्तिहरूको अब संसदीय सुनुवाइ हुनेछ। संसदीय सुनुवाइपछि सम्बन्धित मुलुकबाट सहमति प्राप्त गर्ने प्रक्रिया अघि बढ्ने र त्यसपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने प्रक्रिया छ।
बैठकले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णयसमेत गरेको छ। साथै, साविक कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहने गरी नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ संशोधन गरिएको छ।
मन्त्रिपरिषद्ले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। त्यस्तै सहसचिव रुद्र सिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय भएको छ।

