- साउन १ गतेदेखि लागू ईडीएलभिआरएसमार्फत सवारी चालक अनुमतिपत्र छपाइ सुरु भएको छ।
- पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ लाइसेन्स छापेर हुलाकमार्फत सम्बन्धित यातायात कार्यालयमा पठाइएको छ।
- प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरेर आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गर्न सक्ने व्यवस्था गरिएको छ।
सरकारले विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र छपाइ सुरु गरेको छ। लामो समयदेखि देखिएको लाइसेन्स छपाइ तथा वितरणको समस्या समाधान गर्ने उद्देश्यले साउन १ गतेदेखि लागू नयाँ प्रणालीबाट छपाइ थालिएको हो।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागका अनुसार नयाँ प्रणालीमा सेवाग्राहीको विवरण ईडीएलभिआरएसबाट सिधै सुरक्षण मुद्रणमा पुग्नेछ। सुरक्षण मुद्रणले लाइसेन्स छापेपछि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको छ।
पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि सम्बन्धित कार्यालयमा पठाइएको छ।
नयाँ व्यवस्थाअनुसार प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गर्न सक्नेछन्। मधेश प्रदेशले यसअघि नै सम्झौता गरी छपाइ गरिरहेको छ भने लुम्बिनी प्रदेशले पनि शुक्रबार सुरक्षण मुद्रणसँग सम्झौता गरी छपाइ प्रक्रिया सुरु गरेको छ।
प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता नगरेको अवस्थामा यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणको समन्वयमा लाइसेन्स छपाइ गरिनेछ।
विभागले नयाँ प्रणालीबाट नयाँ लाइसेन्स तथा नवीकरणपछिको लाइसेन्स छपाइलाई छिटो र सहज बनाउँदै सेवाग्राहीलाई समयमै अनुमतिपत्र उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।

