काठमाडौं । लमजुङमा निर्माणाधीन ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल रोक्न माग गर्दै ‘मर्स्याङ्दी बचाउ अभियान’ले जिल्ला प्रशासन कार्यालय लमजुङमा ज्ञापनपत्र बुझाएको छ।
अभियानका संयोजक रामबहादुर थापाको नेतृत्वमा गएको टोलीले सोमबार प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै आयोजनाले अनुमतिपत्र र वातावरणीय अध्ययन (आईईई) बिना निर्माण कार्य अघि बढाइरहेको आरोप लगाएको हो।
ज्ञापनपत्रमा बेंसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिका क्षेत्रमा दिव्यज्योति हाइड्रोपावर प्रालिद्वारा निर्माण भइरहेको आयोजनाका सम्बन्धमा विद्युत विकास विभाग, डिभिजन वन कार्यालय तथा जिल्ला प्रशासन कार्यालयबाट निर्माण कार्य रोक्न ‘स्टप अर्डर’ जारी भइसकेको दाबी गरिएको छ। ती आदेशको अवज्ञा गर्दै निर्माण कार्य निरन्तर अघि बढाइएको भन्दै अभियानले तत्काल रोक्न माग गरेको छ।
अभियानले राज्यका जिम्मेवार निकायबाट जारी आदेश कार्यान्वयन नहुँदा प्रशासनको साख र विधिको शासनमाथि प्रश्न उठ्ने जनाएको छ। ज्ञापनपत्रमार्फत प्रशासनिक आदेशलाई कडाइका साथ कार्यान्वयन गर्न माग गरिएको छ।
त्यस्तै, वातावरणीय जोखिम र जनधनको सुरक्षाको विषयलाई पनि अभियानले प्रमुख सरोकारका रूपमा उठाएको छ। ज्ञापनपत्रमा ICIMOD को प्रतिवेदनअनुसार ‘ठूलागी हिमताल’ उच्च जोखिममा रहेको उल्लेख गर्दै भोटेकोशी क्षेत्रमा आएको विपद्को पृष्ठभूमिमा न्यूनतम अध्ययनबिना नदी तथा खोलाको दोहन गर्दा तटीय बस्ती जोखिममा पर्न सक्ने दाबी गरिएको छ।
अभियानले आयोजनासँग सम्बन्धित संस्थापक सेयरमा सर्वसाधारण तथा स्थानीयको लगानीसमेत जोखिममा परेको जनाएको छ। कानुनी अनुमति र प्रक्रिया पूरा नगरी निर्माण तथा लगानीसम्बन्धी गतिविधि अघि बढाइएको भए त्यसको छानबिन गरी सर्वसाधारणको लगानीको सुरक्षा सुनिश्चित गर्न प्रशासनसँग माग गरिएको छ।
ज्ञापनपत्र बुझाउनुअघि अभियानले एक घण्टे शान्तिपूर्ण धर्नासमेत दिएको थियो। ज्ञापनपत्रमा निर्माण कार्य नरोकिएमा जनधनको सुरक्षा तथा विधिको शासन स्थापनाका लागि थप शान्तिपूर्ण नागरिक दबाबका कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ।
अभियानले आयोजनाको निर्माण कार्य पूर्ण रूपमा बन्द गराउन तत्काल प्रहरी परिचालन गरी आदेश कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालयसँग जोडदार माग गरेको छ।
ज्ञापनपत्रको बोधार्थ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत विकास विभाग र जिल्ला प्रहरी कार्यालय लमजुङलाई दिइएको छ।

