काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह आज उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन्। प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ अर्थात् असोज ८ गते महासभाको उच्चस्तरीय बहसलाई सम्बोधन गर्नेछन्।
प्रधानमन्त्रीको सम्बोधनमा जलवायु संकट र नेपालले भोगिरहेको असमान क्षतिलाई प्रमुख मुद्दा बनाउने तयारी गरिएको छ। भोटेकोशी बाढीले पुर्याएको क्षति, कम कार्बन उत्सर्जन गर्ने नेपालजस्ता मुलुकले भोग्नुपरेको जलवायु प्रभाव, जलवायु न्याय तथा क्षतिपूर्तिको विषय सम्बोधनमा समेटिने अधिकारीहरूले बताएका छन्।
नेपालले जलवायु वित्तमा सहज पहुँच, विकसित मुलुकबाट प्रविधि हस्तान्तरण र विपद्को पूर्वसूचना प्रणाली बलियो बनाउन अन्तर्राष्ट्रिय सहयोगको विषयसमेत उठाउने तयारी गरेको छ। परराष्ट्र मन्त्रालयले यसअघि नै महासभालाई जलवायुजन्य विपद्बाट नेपालले बेहोरेको जनधनको क्षति विश्वसामु राख्ने र जलवायु न्यायका लागि उच्चस्तरीय आह्वान गर्ने अवसरका रूपमा प्रस्तुत गरेको थियो।
प्रधानमन्त्रीले नेपालको पछिल्लो राजनीतिक परिवर्तन, निर्वाचनपछिको सरकारका प्राथमिकता तथा संयुक्त राष्ट्रसङ्घसँग नेपालको सहकार्यका विषय पनि प्रस्तुत गर्ने तयारी छ।
परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईसहितका अधिकारी यसअघि नै न्युयोर्क पुगिसकेका छन्। प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकारसहित सरकारी अधिकारी सहभागी हुनेछन्।
न्युयोर्क बसाइका क्रममा शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाह सेप्टेम्बर २६ अर्थात् असोज १० गते स्वदेश फर्किनेछन्।

