काठमाडौँ । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाले मंगलबार साँझ विशेष मौसम बुलेटिन जारी गर्दै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनसक्ने जनाएको हो। ती प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरिएको छ।
त्यस्तै, मधेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने तथा देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने पूर्वानुमान छ।
महाशाखाका अनुसार उत्तर अण्डमान सागर तथा आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र अहिले बङ्गालको खाडीको मध्य भाग आसपासमा रहेको छ। उक्त प्रणाली थप शक्तिशाली बन्दै डीप डिप्रेसनका रूपमा पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको छ।
यसको प्रभावका कारण बुधबारदेखि कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने महाशाखाले जनाएको छ।
सम्भावित भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ। शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिमसमेत हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
ठूला तथा साना नदी, नाला र खोलामा पानीको सतह बढ्नसक्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य तथा सडक र हवाई यातायातसमेत प्रभावित हुनसक्ने विभागको पूर्वानुमान छ।
महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। केही स्थानबाट धानबाली भित्र्याउने समयबारे मौसमसम्बन्धी जानकारी माग भइरहेकाले कृषि विज्ञको सल्लाहअनुसार काम गर्नसमेत अनुरोध गरिएको छ।
हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना
मौसम प्रणालीको प्रभाव हिमाली क्षेत्रमा समेत पर्ने भएकाले केही स्थानमा भारीसम्म हिमपात हुनसक्ने विभागले जनाएको छ। पर्वतारोही तथा हिमाली क्षेत्रमा रहेका अन्य व्यक्तिलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
विभागकी प्रवक्ता विभूति पोखरेलले हिमाली क्षेत्रमा स्नो स्ट्रोम (हिम आँधी) को जोखिम रहेकाले उच्च सतर्कता आवश्यक रहेको बताइन्।
मौसम पूर्वानुमान महाशाखाले उक्त मौसम प्रणालीको निरन्तर अनुगमन भइरहेको जनाएको छ। मौसममा थप परिवर्तन हुनसक्ने भएकाले महाशाखाबाट जारी हुने नियमित तथा अद्यावधिक मौसम सूचना हेर्नसमेत सर्वसाधारणलाई आग्रह गरिएको छ।

