काठमाडौं– सरकारले घट्दो जनसंख्या वृद्धिदरलाई सम्बोधन गर्न सुत्केरी बिदा र प्रोत्साहनसम्बन्धी नयाँ व्यवस्था गर्ने तयारी गरेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सोमबार प्रतिनिधिसभा बैठकमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०६३ प्रस्तुत गर्दै जनसंख्या वृद्धिदर निरन्तर घट्दै गएकाले त्यसलाई सम्बोधन गर्न विद्यमान कानुन संशोधन आवश्यक रहेको बताइन्।
उनले ‘नेपालको पछिल्लो जनगणना अनुसार नेपालको जनसंख्या वृद्धिदर निरन्तर घट्दो क्रममा रहेको हुनाले जनसंख्या वृद्धिको लागि बिदा प्रोत्साहन समेतका व्यवस्था हुनेगरी कानूनमा संशोधन गर्न आवश्यक रहेको छ’ भनिन्।
प्रस्तावित संशोधनअनुसार सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिलाले सुत्केरी हुनुअघि र पछि गरी ६ महिनासम्म तलबसहितको सुत्केरी बिदा पाउने व्यवस्था गरिनेछ।
त्यस्तै, पुरुष कर्मचारीकी पत्नी सुत्केरी भएमा कर्मचारीलाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने प्रस्ताव गरिएको मन्त्री मेहताले जानकारी दिइन्।
मन्त्री मेहताका अनुसार नेपालको संविधानद्वारा प्रदत्त महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी हकको सम्मान, संरक्षण र परिपूर्ति गर्न मातृत्व तथा प्रजनन स्वास्थ्य सेवालाई सुरक्षित, गुणस्तरीय, सर्वसुलभ तथा पहुँचयोग्य बनाउन विधेयक ल्याइएको हो।

