काठमाडौं-कर्णाली प्रदेशसभा सांसद राजकुमार शर्मालाई पदमुक्त गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को पत्रअनुरूप कर्णाली प्रदेशसभा सचिवालयले सांसद पद रिक्त हुने गरी कारबाही गरेपछि शर्माले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सोमबार सर्वोच्च अदालतले रिट खारेज गरेको हो।
सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले यसअघि कारबाही रोक्न जारी भएको अन्तरिम आदेशले निरन्तरता नपाउने निर्णयसमेत गरेको छ।
यससँगै कर्णाली प्रदेशसभा सचिवालयले गरेको शर्मा पदमुक्त हुने निर्णय सदर भएको छ।
तत्कालीन नेकपा माओवादीबाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका शर्मामाथि प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रचारमा लागेको आरोपमा कारबाही गर्दै सांसद पदबाट पदमुक्त गरिएको थियो।

