काठमाडौँ– नेपाली कांग्रेसको संस्थापनइतर समूह शेरबहादुर देउवा पक्षले गर्न लागेको महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगको अभिलेखमा दर्ता भएको छ ।
देउवा पक्षले वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्मको कार्यतालिका समेटिएको पत्र मंगलबार निर्वाचन आयोगमा बुझाएको थियो । आयोगले उक्त पत्र अभिलेखमा राख्ने तोकादेश गरेको हो ।
देउवाले पार्टी सभापतिकै हैसियतमा हस्ताक्षर गरी दर्ताका लागि दिएको निवेदन आयोगले दर्ता गरेको जनाइएको छ । आयोगले अभिलेखमा राख्ने निर्णय गरेको पत्रमा नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पाँच वर्षे कार्यकाल आगामी मंसिर मसान्तमा समाप्त हुने भएकाले विधानअनुसार सबै तहमा अधिवेशन गर्न लागिएको उल्लेख छ ।
देउवा पक्षले आयोगमा बुझाएको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन २०८३ साल मंसिर २१, २२ र २३ गते काठमाडौँमा आयोजना गरिनेछ ।
महाधिवेशनअन्तर्गत वडा तहदेखि क्रमशः अधिवेशन गर्दै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका प्रस्ताव गरिएको छ । आयोगले प्राप्त कार्यतालिकालाई अभिलेखमा राख्ने निर्णय गरेसँगै देउवा पक्षबाट प्रस्तावित महाधिवेशन प्रक्रियासम्बन्धी विवरण आयोगको अभिलेखमा समावेश भएको छ ।

